अमेरिका बस्ने डीएस भण्डारी जग्गा किन्ने सोचका साथ करिब एक महिनाअघि नेपाल आए । नेपाल आएको साता नपुग्दै उनले आफूलाई मनपर्ने जग्गा किने । जग्गा किन्न न उनले आफन्त र साथीभाइ गुहारे न त ‘दलाल’ को खोजी नै गरे ।
त्यत्रि मात्र होइन, उनले नेपाल आउनुअघि अमेरिकाबाटै आफूले किन्ने जग्गा लगभग रोजिसकेका थिए । नभन्दै अमेरिका हुँदै मन पराएको जग्गा नै किन्न पाए । एक महिनाको छुट्टीमा आएका उनी दुई साताअघि नै काम सकेर फर्किए । उनलाई अमेरिकामै बसेर रोज्न र नेपाल आएर जग्गा किन्न सजिलो परिदिएको हो– रियलस्टेट कारोबार गराउने एउटा अनलाइनले ।
भण्डारी मात्र होइन, विदेशमा कमाएको रकमले नेपालमा घरजग्गा जोड्न चाहने धेरैलाई सजिलो पारिदिएको छ अनलाइन घरजग्गा कारोबारले । त्यत्रि मात्र होइन, अहिले खानेकुरादेखि लत्ताकपडासम्म अनलाइनबाटै किन्न सकिन्छ । शिक्षा, स्वास्थ्यजस्ता सेवा मात्र होइन, जागिरसमेत अनलाइनबाटै खोज्न पाउँछौं । अरूलाई सुविधा दिने यस्ता अनलाइनहरू आफैंमा राम्रो आम्दानी हुने व्यवसाय बन्दै गएका छन् । सूचना प्रविधिको विकास र विस्तारसँगै नेपालमा ‘ई–कमर्स’ अर्थात् अनलाइन व्यवसाय पनि फस्टाउँदै गएको छ ।
ई–कमर्सका लागि तयारी ई–कमर्स सुरु गर्नपूर्व गर्नुपर्ने मुख्य काम भनेकै बजारबारे बुझ्नु हो । बजार नबुझी र अध्ययन नगरी ई–कमर्स सुरु गर्नु मूर्खता हुने बताउँछन्– यस क्षेत्रमा कारोबार गरिरहेकाहरू । ई–कमर्स आफैंमा व्यापक क्षेत्र हो । ई–कमर्सभित्र वस्तु मात्र होइन सेवासमेत पर्छ । त्यसले गर्दा आफूले कुन वस्तु वा सेवा बेच्ने हो निक्र्योल नगरी व्यवसाय सुरु गर्दा घाटा लाग्न सक्छ । सबै बुझ्न बजार सर्वेक्षण जरुरी छ । कहिले सुरू गर्ने ? बजारको आवश्यकता र तपाईंको इच्छा मिलेपछि ई–कमर्स सुरु गर्न सक्नुहुन्छ । यसका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया भनेको अरू कम्पनीकै जस्तो हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा गई कम्पनी दर्ता गर्नुपर्छ । करमा दर्ता गर्नेलगायतका विषय पनि अरू कम्पनीकै जस्तो हो । अरू कम्पनीभन्दा फरक भनेको चाहिँ यसका मुख्य दुइटा कुरा हुन्– आपूर्ति व्यवस्थापन र भुक्तानी लिने प्रक्रिया (पेमेन्ट सिस्टम) । अरू व्यवसायमा भन्दा यसमा यी दुवै कुरा फरक हुन्छन् । त्यसैले सूचना प्रविधिका साथै यी प्रक्रियाबारे बुझेर मात्र लगानी गर्नुपर्छ । तपाईंसँग लगानीको इच्छा, बजार मागको जानकारी, आपूर्ति व्यवस्थापन र भुक्तानी लिने प्रक्रियासम्बन्धी जानकारी छ भने सुरु गर्न सक्नुहुन्छ ।
कसरी सुरू गर्ने ? कम्पनी दर्तालगायतका प्रक्रिया पूरा गरेपछि तपाईं ई–कमर्स साइट लन्च गर्न सक्नुहुन्छ । त्यसका लागि सुरुमा तपाईंले तीव्र गतिको इन्टरनेट सेवा लिनुपर्छ । कम्तीमा पनि १ मेगाबाइट्स प्रतिसेकेन्ड गतिभन्दा माथिको इन्टरनेट लिनु उपयुक्त हुन्छ । इन्टरनेट मात्र होइन, तपार्इंले वेबसाइटका लागि ग्राहकलाई आकर्षित गर्ने खालको र सजिलो डोमेन लिनुपर्छ । यसका लागि सामान्य वेबसाइट वा ब्लग चलाउँदा आवश्यक पर्नेजस्तो थोरै क्षमताको होइन, धेरै क्षमताको ‘होस्टिङ’ सेवा लिनु जरुरी छ । कम क्षमताको लिएमा वेबसाइट ‘क्र्यास’ हुने सम्भावना हुन्छ । वेबसाइट बनाउँदा सामान भए सामान र सेवा भए सेवाको आकर्षक ‘डिस्प्ले’ गर्न र ‘पेमेन्ट गेटवे’ को व्यवस्था गर्नु जरुरी हुन्छ । विदेशमा बस्ने नेपाली वा विदेशीलाई समेत लक्ष्य गरेर व्यवसाय गर्ने भए त्यसैअनुसार ‘पेमेन्ट गेटवे’ को व्यवस्था गर्नुपर्छ । जस्तो पेपाल, मास्टर कार्ड, गुगल वालेटलगायतबाट भुक्तानी लिन सक्ने व्यवस्था हुनुपर्छ । यो व्यवस्था गर्न त्यत्ति सजिलो छैन ।
यसका लागि तपाईंले विदेशमा बस्ने नेपालीलाई साझेदार बनाउनुभयो भने सबैभन्दा उपयुक्त हुन्छ । आपूर्ति र भुक्तानी व्यवस्थापन अनलाइन व्यापार सुरु गर्नेलाई आपूर्ति र भुक्तानी व्यवस्थापन चुनौतीकै रूपमा रहेको हुन्छ । आपूर्ति व्यवस्थापनमा मुख्यत: तीनखाले प्रणाली अपनाउन सकिन्छ– आफैं सामान स्टक राखेर आपूर्ति गर्ने, अरूको स्टकलाई प्रयोग गरी कमिसन लिने तथा अरूकै स्टक र आपूर्तिलाई विज्ञापन गरे जसरी ग्राहकसँग जोडिदिने । सबैभन्दा सजिलो मोडल भनेको अरूकै स्टक र आपूर्तिलाई विज्ञापन गरेर ग्राहकसँग जोडिदिने हो । तर, यसमा नाफाको हिस्सा एकदमै कम हुन्छ । धेरै सामान बिक्री गर्न सक्नु भएन भने व्यवसाय चलाउन गाह्रो पर्न सक्छ । अरू दुईवटा मोडलमा भने तपाईं आफैंले आपूर्ति गर्ने प्रणाली विकास गर्नुपर्छ । त्यसका लागि सवारी साधन र डेलिभरी गर्ने कामदार आवश्यक हुन्छ । उनीहरूले अर्डरअनुसार सामान पुर्याउने काम गर्छन् । नेपालमा सूचना प्रविधिको ज्ञान हुने ग्राहक कम छन् । त्यसले गर्दा एकदमै थोरैले मात्र ‘अनलाइन पेमेन्ट गेटवे’ प्रयोग गर्छन् । त्यसैले धेरैलाई तपार्इंले ‘क्यास अन डेलिभरी’ गरिदिनुपर्ने हुन्छ ।
यस्तो गर्दा सुरक्षाको कुरा पनि आउँछ । एकान्त स्थानमा सामान डेलिभरी गरिदिन बोलाएर सामान लुटेर हिँड्ने घटनासमेत भइसकेकाले त्यसतर्फ पनि सचेत रहनुपर्छ । अनलाइनबाटै सेवाको व्यापार गर्ने भए पनि तीनैखाले प्रणालीमा काम गर्न सकिन्छ । त्यसमा फरक भनेको सामानको साटो सेवा आपूर्ति गर्ने हो । जस्तो अहिले अनलाइनबाटै जागिर खोजिदिने कम्पनीहरू सञ्चालनमा आएका छन् । उनीहरूले रोजगारदाता र रोजगारी खोज्नेलाई एक आपासमा जोड्ने काम गर्छन् । यसका लागि कसैले विज्ञापन गरिदिएको जस्तो शैली अपनाएका छन् भने कतिपयले चाहिँ रोजगारदातालाई जागिर खोज्नेहरूसमेत भेटाइदिन्छन् । यसका लागि सम्पर्कको ठूलो भूमिका हुन्छ । त्यसैले अनलाइन सेवा व्यापारका लागि ‘पब्लिक रिलेसन’ को भूमिका महत्त्वपूर्ण हुन्छ । वैधानिक बाटो अनलाइन व्यवसाय सुरु गर्ने कतिपयले कम्पनी दर्ता नगरी वा करसमेत नतिरी सेवा सुरु गर्छन् । सजिलै डोमेन दर्ता गर्न र अनलाइन बनाउन सकिने हुँदा उनीहरूले यस्तो गरेका हुन् ।
त्यसले दुर्घटना निम्त्याउने हुन्छ । सरकारी निकायलाई छलेर गरिने यस्तो व्यवसाय र व्यवसायी जुनसुकै बेला समस्यामा पर्न सक्छन् । केही चलेका नेपाली ई–कमर्स साइटहरू यस्तै कारणले बन्द भएका छन् । न्यून बिजकीकरण भएर आएका सामान बिक्री गर्ने र भन्सार नतिरी सामान ल्याउने जस्ता कार्य गर्दा पनि यस्ता व्यवसायी फसेको देखिन्छ । यस्ता झन्झटमा नपर्नका लागि तपार्इंले सबै सरकारी निकायमा दर्ता गरेर वैधानिक बाटोबाट व्यवसाय सुरु गर्नुपर्छ ।
Source: कान्तिपुर
0 Comments